कैलाली कारागारमा आन्तरिक मतभेदले झडप भएको निष्कर्ष

कैलाली कारागारमा गत साउन २३ गते भएको झडपको छानबिन गर्न गठित समितिले कारागारको आन्तरिक प्रशासनबीचको मतभेदका कारण घटना भएको निष्कर्ष निकालेको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको संयोजकत्वमा गठित समितिले प्रमुख जिल्ला अधिकारीलाई बुझाएको प्रतिवेदनमा यस्तो उल्लेख छ ।

समितिकी संयोजक जोशीले कारागारभित्रको ‘ए ब्लक’ र ‘बी ब्लक’ बीचको आन्तरिक प्रशासनमा मतभेद सिर्जना भई झडप भएको बताएकी छन् ।

यद्यपि, घटनाको थप गहिरो अनुसन्धानका लागि विशेषज्ञसहितको उच्चस्तरीय समिति आवश्यक रहेको उनको भनाइ छ ।

उक्त झडपमा एक जना कैदीबन्दीको मृत्यु भएको थियो भने ४९ जना घाइते भएका थिए। तीमध्ये तीन जनाको काठमाडौंमा अझै उपचार भइरहेको छ ।

घटनापछि कैलालीका प्रमुख जिल्ला अधिकारी र कारागारका शाखा प्रमुखलाई सरकारले सरुवा गरेको छ ।

१५० जना अट्ने क्षमता भएको कारागारमा हाल ६९७ कैदीबन्दी रहेका छन् ।

Visited 19 times, 1 visit(s) today

Leave a Reply

Your email address will not be published. Required fields are marked *