कलेज पढ्ने क्रममा सुरु भएको चिनजान र प्रेम सम्बन्धको आवरणमा एक १७ वर्षीया किशोरीमाथि बलात्कार भएकाे छ ।
कलेजमा चिनजान भई प्रेम सम्बन्धमा रहेको दाबी गर्ने एक २० वर्षीय युवकविरुद्ध १७ वर्षीया किशोरीले जबरजस्ती करणी र साइबर अपराधको मुद्दा दायर गरेकी छिन् । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले सर्लाही घर भई हाल काठमाडौँको शङ्खरापुरमा बस्ने दिपेशकुमार गिरी विरुद्ध मङ्गलबार काठमाडौँ जिल्ला अदालतमा अभियोग पत्र दर्ता गरेको हो ।
प्रहरीका अनुसार दिपेश र पीडित किशोरी शङ्खरापुर बहु-प्राविधिक शिक्षालयमा अध्ययनरत थिए । दिपेश डिप्लोमा तेस्रो वर्षमा र किशोरी पहिलो वर्षमा पढ्ने क्रममा उनीहरूबिच चिनजान र बोलचाल सुरु भएको थियो । अभियोग पत्रका अनुसार २०८१ साल असोज महिनामा दिपेशले ती किशोरीलाई विभिन्न प्रलोभन देखाई आफ्नो कोठामा लगेर पहिलो-पटक उनको इच्छा विपरीत जबरजस्ती करणी गरेका थिए । सो समयमा दिपेशले मोबाइलबाट किशोरीको आपत्तिजनक फोटो र भिडिओ समेत खिचेका थिए ।
त्यसपछि दिपेशले ती फोटो र भिडिओ सामाजिक सञ्जालमा राखिदिने र बेइज्जत गरिदिने भन्दै किशोरीलाई निरन्तर ब्ल्याकमेलिङ गर्न थाले । उनले पटक-पटक किशोरीलाई डर र त्रास देखाई आफ्नो कुरा मान्न बाध्य पारेको पीडितको बयानमा उल्लेख छ । यसै डरका कारण किशोरीले उक्त कलेज छोडेर ६ महिना अगाडि मात्रै गोकर्णेश्वरको अर्को विद्यालयमा कक्षा ११ मा भर्ना लिएकी थिइन् । तर, कलेज परिवर्तन गरेपछि पनि दिपेशले उनलाई पिछा गर्न र धम्काउन छोडेनन् ।
घटनाले उग्र रूप तब लियो, जब १७ मङ्सिर २०८२ मा दिपेशले “तिम्रो फोटो र भिडिओ तिम्रै अगाडि डिलिट गरिदिन्छु” भन्दै किशोरीलाई फेरि आफ्नो कोठामा बोलाए । पीडितका अनुसार दिपेशले भिडिओ डिलिट गर्नुको साटो पुन: जबरजस्ती गर्न खोजे । किशोरीले प्रतिकार गर्दा दिपेशले उनलाई बलिरहेको चुरोटले दायाँ हातमा पोलेर शारीरिक र मानसिक यातना दिएका थिए ।
उनले पीडितको नग्न तस्बिर आफ्नो फेसबुक र टिकटकमा पोस्ट गरी किशोरीको चरित्रहत्या गरेको समेत प्रहरीको मिसिलमा उल्लेख छ ।
गिरीले भने अध्ययनका क्रममा जाहेरवाला किशोरीसँग चिनजान भएको र पछि फेसबुक तथा टिकटकमा साथी बनेर कुराकानी हुन थालेको बताएका छन् । उनले आफूले प्रेम प्रस्ताव राखेको र किशोरीले स्वीकार गरेपछि प्रेम सम्बन्ध रहेको दाबी समेत गरेका छन् ।
किशोरी आफ्नो कोठामा आएको बेला दुवै जनाको सहमतिमा शारीरिक सम्बन्ध भएको र सोही समयमा किशोरीकै मोबाइलबाट भिडिओ समेत बनाएको बयान उनले दिएका छन् । उनले आफूहरूले एक-अर्काको सामाजिक सञ्जालको पासवर्ड समेत आदान-प्रदान गरेको बताएका छन् ।
उनीहरूबिचको सम्बन्ध किशोरीको परिवारले थाहा पाएपछि परिवारले मोबाइल खोसेको र उनलाई अर्कै कलेजमा भर्ना गरिदिएको गिरीको बयानमा उल्लेख छ । त्यसपछि उनीहरूबिच ह्वाट्सएपमार्फत कुराकानी हुने गरेको र किशोरीले आफ्नो शरीरको नग्न फोटो पठाएको उनले दाबी गरेका छन् ।
किशोरीले आफूसँग कुरा गर्न छाडेपछि उनलाई कुरा गर्न बाध्य पार्नका लागि ‘तिम्रो अश्लील फोटो र भिडियो सामाजिक सञ्जालमा हालिदिन्छु’ भनी ह्वाट्सएपबाट धम्की पठाएको कुरा भने उनले स्वीकार गरेका छन् । साथै, उनले किशोरीको नाङ्गो फोटो आफ्नो फेसबुक स्टोरीमा पोस्ट गरेको कुरा पनि बयानमा स्वीकारेका छन् ।
उनलाई मुलुकी अपराध संहिता र विद्युतीय कारोबार ऐनअनुसार कडा सजायको माग गरिएको छ ।












Leave a Reply