आफ्नै १३ वर्षीया छोरीमाथि बला*त्कार

सरकारी वकिल कार्यालयले काठमाडौंमा एक पुरुषमाथि १३ वर्षीया छोरीलाई बलात्कार गरेको अभियोग लगाएर मंगलबार जिल्ला अदालत काठमाडौंमा हाडनातामा जबर्जस्ती करणी मुद्दा दर्ता गरेको छ । १३ वर्षीया बालिका बेहोस भएर स्कुलमा ढलेपछि उपचारका लागि वीर अस्पताल पुर्याउँदा उनीमाथि बलात्कार भएको खुलेको सरकारी वकिल कार्यालयले राखेको अभियोग पत्रमा उल्लेख गरिएको छ ।

सिन्धुपाल्चोक स्थायी घर भएका बालिकाको परिवार काठमाडौँ कालिमाटीमा डेरा गरी बस्दै आएका थिए । बालिकाको ३७ वर्षीय बुवा गाडी चलाउँछन् भने आमा बिहान–बेलुका चिया बेच्छिन् । बालिकाको एक भाइ छ । १३ वर्षीया बालिका कालिमाटीको एक विद्यालयमा कक्षा–७ मा पढ्छिन् र उनी घरकी जेठी हुन् ।

बुवाले गाडी चलाउन सिकाउने भन्दै विभिन्न ठाउँमा लिएर जाने गरेको बालिकाले सरकारी वकिल कार्यालयमा दिएको बयानमा बताएकी छन् । उनले बयानमा भनेकी छन्, ‘गाडी चलाउन सिकाउने भनेर विभिन्न ठाउँमा लिएर जानुहुन्थ्यो, घुम्न जाँदा मेरो साथीहरूलाई गर्लफ्रेन्ड बनाइदिनुपर्यो भनेर भन्नुहुन्थ्यो । मसँग यौन सम्बन्धी कुरा गर्ने जिस्किने, चिमाट्ने र शरीर छुने गर्नुहुन्थ्यो ।’

ती पुरुषले पनि छोरीलाई साथी जस्तो व्यवहार गर्ने, गर्लफ्रेन्ड बनाउन, शरीरमा छुने र यौन सम्बन्धी कुरा गर्ने गरेको स्वीकार गरी बयान दिएका छन् । बालिकाले भने बुवाले गरेको यौन दुव्र्यवहारबारे कसैलाई भन्न सकेकी थिइनन् । उनले सुरुवाती दिनमा आफूलाई माया गरेको हो या दुव्र्यवहार गरेको भन्नेसमेत थाहा नभएको बताएकी छन् । बुवाको व्यवहारबारे बालिका अन्यौल नै थिइन् ।

२०८२ असोज १३ गते राति १२ बजेतिर घर फर्किँदा बालिका सुतिसकेकी थिइन् । बालिकाले बयानमा भनेकी छन्, ‘आमा सँगै सुतेको थिएँ, बुवाले खाटबाट उचालेर भुइँमा लगि कपडा खोलेर बलात्कार गर्नुभयो। चिच्याउन खोज्दा मुख थुन्नुभयो।’ ती पुरुषले पनि आफूले छोरीलाई बलात्कार गरेको स्वीकारेका छन् ।

प्रहरी समक्ष उनले आफूले छोरीलाई कसैलाई भनेमा मारेर फालिदिने धम्की दिएको पनि स्वीकारेका छन् । त्यही डरले बालिकाले आमालाई पनि आफूमाथि भएको घटनाबारे सुनाउन सकेकी थिइनन् । दोस्रो दिन बुवाले माफी मागेर एउटा सेतो चक्की औषधि खुवाएको बालिकाको भनाइ छ। ‘बुवाले मारेर फालिदिने डरले कसैलाई भन्न सकेको थिइनँ। त्यसैले दोस्रो पटक पनि प्रयास गर्नुभयो,’ उनले भनेकी छन् ।

बालिकाले बयानमा भनेअनुसार मंसिर १९ गते बिहान पुनः बलात्कारको प्रयास गरेका थिए । एक्लै भएको बेलामा बलात्कार गर्ने मनसायले बेडमा पल्टाई हात थुनेर प्रयास गर्दैगर्दा एक्कासि भाइले ढोका खोल्यो । भाइले एक्कासि ढोका खोलेपछि बुवा कोठाबाट बाहिर निस्किएर गएको उनले बताइन् ।

बुवाले पटक–पटक बलात्कार गर्न खोजेको कुराले भित्रभित्र डराइरहेको थिएँ । त्यही कुराले पीरले बेहोस भएर लडेछु,’ उनले भनिन् । उनी मंसिर २१ गते दिन दिउँसो विद्यालयमै बेहोस भएकी थिइन् । विद्यालयमा बेहोस भएपछि उनलाई उपचारका लागि वीर अस्पताल पुर्याइएको थियो । अस्पताल पुर्याएपछि स्कुलले उनकी आमालाई जानकारी गराएको हो ।

अस्पतालमा पुगेपछि चिकित्सकहरूले पनि सोधिरहेका थिए । आमा भेटेपछि साँझ घटनाबारे सबै सुनाएको हुँ,’ बालिकाले भनेकी छन् । उनले अस्पतालमा आमालाई घटनाबारे जानकारी गराएपछि कानुनी प्रक्रिया अगाडि बढेको हो । बालिकाको बुवालाई मंसिर २६ गते पक्राउ गरेर कानुनी प्रक्रिया अगाडि बढाएको थियो ।

Visited 54 times, 1 visit(s) today

Leave a Reply

Your email address will not be published. Required fields are marked *